३१ भाद्र काठमाडौँ । मनसुनजन्य विपद्का घटनाबाट यस पटक अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको ९० दिने अवस्था प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै धनजनको क्षति भएको हो ।
गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएका बाढी, पहिरो लगायतका विपद्मा परेर भदौ २२ गतेसम्म दुई सय २५ जनाको निधन भएको हो । अघिल्लो वर्ष २०८० जेठ ३१ देखि भदौ २५ सम्मको ९० दिनमा ८५ जनाले ज्यान गुमाएका थिए ।
प्राधिकरणका प्रवक्ता समेत रहेका उपसचिव डा. डिजन भट्टराईले यो वर्ष सरदरभन्दा बढी पानी परेको हुनाले विपद्का घटनाहरू बढेको बताए ।
उनले भने, ‘अघिल्लो वर्षको समीक्षा अवधिमा ८३८ वटा विपद्का घटना बाट ८५ जनाको निधन, २९ बेपत्ता, १२६ व्यक्ति घाइते र छ हजार ३० घरपरिवार विस्थापित भएकोमा यो वर्ष विपद्का घटना बढेर एक हजार ५८४ पुगेका छन् । विपद्का घटना बढेसँगै घटना बढेसँगै मानवीय र भौतिक क्षति बढेको हो ।’
बाढी, पहिरो चट्याङ लगायत मनसुनजन्य विपद्का कारण ९० दिनको अवधिमा नौ वटा विद्यालय, १० पक्की पुल, १० जलविद्युत आयोजना, २० वटा झोलुङ्गे/काठको पुल, एक स्वास्थ्य चौकी, २७२ निजी घर पूर्णरुपमा र १९७ घर आंशिक रूपमा क्षति पुगेको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा ३२ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ४० जना, कर्णाली प्रदेशमा १७ जना र सुदूरपश्चिम प्रदेशमा १८ जना गरी दुई सय २२५ जनाको मृत्यु भएको हो ।
यस अवधिमा कोशी प्रदेशमा ४७ जना, मधेश प्रदेशमा १४ जना, बागमती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा ४९ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ७३ जना र सुदूरपश्चिम प्रदेशमा ४० जना गरी जम्मा २ सय ९४ व्यक्तिहरू घाइते भएका छन् ।
प्राधिकरणका अनुसार बाढीका कारण ४९ जना, पहिरोको कारण १३५ जना, भारी वर्षाका कारण एक जना र चट्याङका कारण ४० जना गरी कूल २२५ जनाले ज्यान गुमाएका हुन् ।
समिक्षा अवधिमा बाढीबाट ११ जना र पहिरोबाट ३८ जना गरी कूल ४९ व्यक्तिहरू बेपत्ता छन् भने घाइतेको सङ्ख्या २९४ पुगेको छ । विपद्का घटनाबाट चार हजार ६१५ घरपरिवार विस्थापित भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेर दुई वटा बसमा सवार ६२ यात्रुमध्ये २४ जनाको शव भेटिएको र बाँकी बेपत्ता भएका थिए ।
विपद्का घटना भए लगत्तै नेपाल प्रहरीबाट आठ हजार २५२ जना, सशस्त्र प्रहरीबाट पाँच हजार ८१७ जना र नेपाली सेनाबाट चार हजार ७०८ जना गरी कूल १८ हजार ७७७ जनशक्ति खटिएर खोज राहत तथा उद्धारमा संलग्न रहेको प्राधिकरणले जनाएको छ ।
मनसुन सुरु भएयता प्राधिकरणबाट १६ जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा दुई करोड ५९ लाख ३६ हजार रुपैयाँ निकासा गरिएको थियो भने मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहत स्वरूप रु १५ हजारदेखि २० हजार रुपैयाँसम्म र मृतकको परिवारलाई राहत स्वरूप जनही रु दुई लाख रुपैयाँका दरले वितरणको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाइएको प्रवक्ता भट्टराईले बताए ।
प्राधिकरणले विपद्को सघनताको तुलनामा मानवीय क्षति कम गराउन सकेको दाबी गरेको छ।
प्रतिवेदनको पूर्णपाठ