काठमाडौं, ३० श्रावण । स्थानीय तहमा रिक्त रहेका पदहरूमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हुन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको हो ।
आयोगका सहायक-प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ ।
यस्तै २८ वडाध्यक्ष उपनिर्वाचनबाट चयन गर्नुपर्नेछ । रिक्त ती सबै पदका लागि उपनिर्वाचनको मिति तोक्ने विषयमा आयोगका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव दिएका हुन् ।
आयोगका सह-प्रवक्ता चालिसेका अनुसार उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा स्थानीय तहमा रिक्त पदमा २०८१ मंसिर १६ गते नै उपनिर्वाचन गर्ने गरी परामर्श दिइएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
यी हुने उपनिर्वाचन हुने स्थानीय तह