काठमाडौं, ३० श्रावण । स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले गृहकार्य थालेको छ ।
आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्वजनिक आह्वान गरेको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार निर्वाचन आयोगले तयारी थालेको हो ।
आयोगका प्रवक्ता सहसचिव रघुराम विष्टका अनुसार गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ ।
यस्तै २८ वडाध्यक्ष उपनिर्वाचनबाट चयन गर्नुपर्नेछ । रिक्त ती सबै पदका लागि उपनिर्वाचन गराउनुपर्ने विषयमा आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
आयोगका एक पदाधिकारीका अनुसार आगामी मसिंरमा उपनिर्वाचन गराउने गरी प्रधानमन्त्रीसँग छलफल भएको छ ।
यी हुने उपनिर्वाचन हुने स्थानीय तह