सिनामंगल स्थित केएमसी अस्पतालको ‘मानसिक विभाग’ मा एक जना अधवैशे महिलाले सानो बच्चालाई चाउचाउ खुवाउँदै गरेको देखेँ । भर्खरै आमा बनेकोले पनि होला त्यो बच्चा प्रति म आकर्षित भए । सानो बच्चालाई काँचो चाउचाउ खुवाएको दृश्य मेरो लागि बिलकुल असहज लाग्ने खालको थियो ।
नजिकै गएर सोधे, ‘म्याम यो बच्चा कसको हो, यहाँ किन राख्नु भएको र ?’
असहज मान्दै तामाङ भाषामा उनले जवाफ दिइन् ‘छोरी बिरामी भएर ल्याएको छ ।’ सिन्धुपाल्चोक बाट उपचार गर्न ल्याएकोले बच्चालाई स्याहार गर्न आफू आएको उनीसँगको कुराकानीमा थाहा भयो ।
उनको भाषा बुझ्न अलिक कठिनाइ भएकोले असहज मान्दै फेरि प्रश्न गरे, ‘बच्चाको उमेर कति हो, बच्चाको आमा खै त ?’
उक्त बच्चा नौ महिनाको रहेछ । बच्चाको आमा क्यारम बोर्ड (अस्पताल भित्र) खेल्दै छ भनेर इशारा गरेर देखाइन् ।
मेरो मनमा आँधी तुफान आए झैँ भयो । कुनै पनि आमाले आफ्नो बच्चालाई कसरी यस्तो बेवास्ता गरेर बस्न सक्छ होला ? दुई महिनाको बच्चा छाडेर अस्पताल गएकोले मेरो मन आत्तियो । वरपरका बिरामी र बिरामी कुरुवाले त्यो दामन्ती (नाम परिवर्तन) लास्टै खराब छे, बच्चाको बेवास्ता गर्छे । रातभर बुढालाई सरापेर बस्छे, हामीलाई कराएर सुत्न दिन्न लगायत भनेर कुरा गरिरहेको मैले सुनिरहेको थिए ।
त्यो कुरा भन्दा पनि बढी मेरो मन भारी भएको थियो । ९ महिनाको बच्चालाई मम, काँचो चाउचाउ खुवाएको, माघको चिसोमा सामान्य लुगा लगाएर राखेको कुराले मेरो मानसपटलमा कुराहरू खेलिरहेको थियो ।
बच्चा जन्मिएपछि महिलाहरूमा हुने पोस्टपार्टम डिप्रेसन (प्रसवोत्तर डिप्रेसन) को बारेमा जानकार रहेकोले उनलाई त्यहीँ भएर अस्पताल ल्याएको भनेर मैले अड्कल काटे ।
अस्पताल बसाइँको लगभग १ घण्टा पछि उनी आइन् । खै के भयो, मैले एकटकले ती महिलालाई हेरिरहेछु । अस्पतालका बिरामी र कुरुवाले भनेझैँ उनले मलाई गाली गरिन् । ‘ओइ किन यसरी हेरेकी ? मलाई कसैले हेरेको मन पर्दैन !’ के भन्नु र कसो भन्नु भए हतार हतार बहाना बनाए र भने, ‘ला, हजुरलाई हेरे जस्तो लाग्यो बहिनी ? हेर्नुस् न मेरो आँखा टेढो छ । कता हेरेको कता देख्छु । माफ गरिदिनुहोस् न प्लिज !’
धन्न उनले मेरो कुराको विश्वास गरिन् । त्यहाँ रहेका सबैलाई चकित बनाउँदै उनी मेरो साथी बनिन् । मलाई सुन्तला खान दिइन र गफ गर्न थालिन् ।
उनको मामाको छोरासँग विवाह भएको रहेछ । बच्चा जन्मिएपछि श्रीमानले माया नगरेकोले अस्पताल आएको भनेर पटक पटक दोहोराइरहिन । बच्चालाई दूध चुसाउन मन नलाग्ने, बच्चाले गर्दा बुढाले माया नगरेको लगायत गुनासाहरू गरिन । बच्चाको अलि केयर गर्नुस् है भन्दै म त्यहाँबाट निस्किए ।
पर्सिपल्ट फेरि म त्यहाँ पुगे । उनलाई श्रीमानसँगै देखे । श्रीमानको साथमा निकै खुसी रहेको अड्कल काँटे । मलाई देखेर खुसी हुँदै ती महिलाले आफ्नो श्रीमानसँग परिचय गराइन् । आज मेरो जन्मदिन भन्दै चकलेट दिइन । मैले सोधे, ‘उपहार के दिऊँ त ?’ उनले धेरै बेर सोचेर आई फोन दिनु भनिन । त्यत्रो उपहार दिने पैसा त मसँग कहाँबाट हुनु नि, म त गरिब छु नि अरू नै केही भन्नुस् न ?
गम्भीर भएर सोचेर उनले सामसुङ्गको चार्जर दिन भनिन । उनलाई चार्जर ल्याइदिने बाचासहित म घर फर्किए । अर्कोपटक म अस्पताल जाँदा उनी डिस्चार्ज भएर घर गइसकेकी रहिछन् ।
दोस्रो पटक असार १५ गते म फेरी केएमसि पुगे । त्यहाँ सुरक्षा गार्डलाई कुट्ने, झगडा गर्न, बच्चा नहेर्ने एक जना महिलालाई भर्ना गरेको रहेछ । बच्चा जन्मिएपछि उनको स्वास्थ्यमा समस्या आएकोले युरोपियन मुलुकबाट उपचार गर्न उनलाई नेपाल ल्याइएको रहेछ ।
काखमा सानो छोरी च्यापेर बिरामीको आमा बाहिर बसेर अन्य कुरुवाहरूसँग गुनासो गरिरहेको सुन्थे म । विदेशको ठाउँमा एक्लै, बच्चा र आफूलाई सम्हाल्न गाह्रो भएकोले अस्पतालमा भर्ना भएकी महिलालाई नेपाल ल्याइएको रहेछ । बच्चाको बेवास्ता गर्ने, रिसाउने, झगडा गर्ने स्वभाव ती महिलामा पनि देखे ।
वरिष्ठ पत्रकार/सम्पादक तथा लेखक बबिता बस्नेतको समय भित्रको समय कार्यक्रममा अतिथि बनेर डाक्टर अरुणा उप्रेती आएकी थिइन् । उनले कार्यक्रममा पोस्टपार्टम डिप्रेसनको बारेमा खुलेर नै कुरा गरिन । बच्चा भइसकेपछि उनमा आएको परिवर्तन, मानसिक विभागमा उपचार गराएर निको भएको तथा उनको श्रीमानले दिएको साथको बारेमा धेरै कुरा भनेकी थिइन । सुत्केरी भएपछि हुने डिप्रेसन अरूलाई पनि बुझाउनु पर्छ भनेर उप्रेतीले पत्रिकामा आर्टिकल लेख्दा उनीसँग जँचाउन आएका बिरामीले नै तपाई त पागल हुनुभएको रहेछ भनेर भनेको समेत स्मरण गरिन् ।
पोस्टपार्टम डिप्रेसनको बारेमा धेरै सँग कुरा गरिसकेकी बबिता बस्नेतले सुत्केरी अवस्थामा परिवारको साथ अपरिहार्य रहेको बताइन् । उनले भनिन्, ‘महिलाहरूलाई पहिलो बच्चा भइसकेपछि पोस्टपार्टम डिप्रेसन धेरै हुने गरेको छ । अधिकांशलाई त मलाई के भइरहेको छ भन्ने कुरा नै थाहा हुँदैन । आमा बन्नु आफैँमा एउटा सुखद र नयाँ अनुभव हो । लक्षण व्यक्तिपिच्छे फरक हुन्छन् । यस्तो बेलामा आफ्नो आफन्तले गर्ने व्यवहारले उनीहरूलाई सहज बनाउँछ । श्रीमान् बुझ्ने भयो भने उनीहरू यो समस्याबाट बिस्तारै निस्कँदै जान्छन् । परिवारको साथ र माया पाए आफूमा आएको समस्याहरूको बारेमा खुलेर कुरा गर्न सक्छन् र सम्भावित समस्या टरेर जान सक्छ । अतः महत्त्वपूर्ण भूमिका भनेको परिवार र आफन्तको हुन्छ ।’
मानसिक समस्यालाई गम्भीर समस्याको रूपमा लिने हाम्रो समाजमा पोस्टमार्टम डिप्रेसनको बारेमा बुझ्ने त कुनै भएन । केही समय अगाडि भर्खरै आमा बनेकी “गिर्वाणीको आमा” ले चर्चित बिन्जुल श्रेष्ठ थापाले आफन्तहरू आएर आफूलाई अनावश्यक तनाव दिएकोले सुत्केरी अवस्थामा सकारात्मक सोच भएका र आफूलाई बुझ्ने आफन्त मात्र आउन आग्रह गर्दै एउटा भिडियो पोस्ट गरेकी थिइन् । उक्त पोस्टमा धेरै महिलाहरूले आफूहरू पनि सोही समस्याबाट पीडित भएको बताएका थिए । पोस्टका कमेन्टहरू पढेर पत्तिकारलाई महिलाहरू यति धेरै पीडा सहेर कसरी बस्न सकेका होलान् भनेर अचम्म लागेको थियो ।
पहिले पहिले यस्ता कुराहरू लुकाएर राख्ने गरिए तापनि अहिले यो विषयमा खुलेर बहस हुन थालेको छ र बहस हुन जरुरी पनि छ । अन्य समस्याजस्तै यो समस्या पनि विकराल बन्दै गइरहेको छ । गर्भवती भएका महिलामध्ये कम्तीमा १० प्रतिशत महिला पोस्टपार्टम डिप्रेसनमा जाने गरेको विश्व स्वास्थ्य सङ्गठनले २०२३ मा सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ ।
महिला तथा भर्खरै आमा बनेका महिलाहरूको विभिन्न फेसबुक ग्रुपहरूमा पनि यो विषयमा खुलेर कुरा हुन थालेको छ । बुहारीले घर र माइतीको इज्जत धान्नको लागि चुपचाप सहेर बस्नुपर्ने बाध्यता रहेको समयमा यस्ता ग्रुपहरू आफ्नो मनका कुरा पोख्न सजिलो माध्यम बनेको छ । पङ्क्तिकार पनि के कस्ता समस्या महिलाहरूले भोग्ने रहेछन् भनेर यस्ता ग्रुपहरूको पोस्ट तथा कमेन्टहरू पढिरहेको हुन्छु ।
दार्चुलाकी सर्मिला अहिले ३ महिनाको सुत्केरी हुन् । ग्रुपमा पोस्ट भेटेर उनीसँग म्यासेन्जरमा पर्सनल कुराकानी गरे । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेकोले एक्लै बच्चा हुर्काइरहेकी छिन् । सुत्केरी भएको समयमा आफन्तहरू आए पनि न्वारान गरिसकेर सबै आफ्नो आफ्नो बाटो लागे । अहिले उनी मानसिक समस्यासँग जुधिरहेको छिन् । एक्लै रुन्छिन्, कराउँछिन्, फोनमा श्रीमानसँग झगडा गर्छिन् । बच्चालाई गाली गर्छिन् र बच्चा च्यापेर बेस्सरी रुन्छिन् । बच्चालाई रिस पोख्न नसकेर आफैलाई कुट्छिन् र बाथरुममा गएर रुन्छिन् । उनलाई एक्लोपनको महसुस भएको छ, कसैको सहारा र साथ बिना एक्लै बच्चा हुर्काउन गाह्रो भएको छ ।
यसका लक्षणहरू जन्मेको ४ हप्तापछि देखिन थाल्ने तीन वर्षसम्म रहिरहने विभिन्न अध्ययनहरूले देखाएको छ । महिलामा प्रजनन हर्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर गर्भावस्थाको समयमा दश गुणा बढ्ने र सुत्केरीपछि छिट्टै घट्नाले यस्ता समस्या आउने चिकित्सकहरू बताउँछन् । हर्मोनहरुको यही उतारचढावले गर्दा गर्भवती महिला सुत्केरीपछि डिप्रेसनमा जाने गरेको बताइन्छ ।
सुत्केरी अवस्था आफैँमा पनि एउटा चुनौती हो, यो अवस्थामा हर्मोनको गडबडी तथा नयाँ अनुभवले गर्दा महिलाहरू विभिन्न समस्यामा हुन्छन् । यस्तो बेलामा परिवारको साथ अपरिहार्य हुन्छ । व्यक्ति पिच्छे हर्मोन फरक हुन्छ र उनीहरूको व्यवहार पनि फरक हुन सक्छ । जबसम्म परिवारले सुत्केरी महिलाको मानसिक अवस्थाको बारेमा बुझ्दैन तबसम्म यो विषयमा जति बहस गरे पनि कम हुन्छ ।
शारीरिक, मानसिक तथा भावनात्मक रूपमा कमजोर भएको अवसर पारेर घर परिवारले गर्ने नराम्रो व्यवहारले पनि कैयौँ आत्महत्या गर्न सम्म बाध्य भएका छन् । माया र साथ दिनुपर्ने बेलामा लगाइने लालच्छना तथा अन्य व्यक्तिसँग तुलना गर्दा सुत्केरी महिलाहरू झन् मानसिक रूपमा कमजोर बन्न पुग्छन् ।
मैले ३ जना छोराछोरी एक्लै हुर्काए, मेरो पालामा यस्तो, एउटै बच्चा पाउँदा के के न भयो, बच्चालाई समयमा खुवाइन, दूध चुसाउन मान्दिन लगायतका कुराहरू गरेर उनलाई हतोत्साहित गर्ने काम बन्द गरौँ । परिवारको सदस्यहरूले सकारात्मक कुराहरू गरेर, तिमी असल आमा बन्ने कोसिसमा छौँ भनेर सम्झाउने, उनमा आएको परिवर्तनहरू ख्याल गरेर डाक्टरसँग परामर्श तथा उनलाई हौसला दिएर पनि यस्ता समस्याहरूबाट बचाउन सकिन्छ ।
एउटा बच्चाको राम्रोसँग विकास हुनको लागि उसको आमाको महत्त्वपूर्ण भूमिका रहनाले आमाको मानसिक स्वास्थ्यमा सबैले ध्यान दिन जरुरी छ । यस्तो बेलामा विशेष गरी श्रीमान्, परिवारको सदस्य तथा सुत्केरी भेट्न आउने आफन्तले विशेष ध्यान दिनु पर्छ ।