
काठमाडौं – राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको एकमात्र जिल्ला हुम्लामा सडक पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुर्याउने दशकौं पुरानो सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गरेका छन् । हुम्लाको खार्पुनाथमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी भए पनि मौसमका कारण केहीपछि सरेको छ ।
हुम्ला सडक सञ्जालसँग जोडिएको अवसरमा प्रधानमन्त्रीले लेखेका छन्, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।
हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौं पुरानो सपना पूरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’