सिरहा, २ भाद्र । बिल बिजक विना सुनचाँदीका गरगहना लिएर हिँडिरहेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पाँचथर, आरुबोटे-५ बाजघरा स्थायी घर भई झापा, दमकमा बस्ने २८ वर्षका रोशन बराइलीलाई सिरहा प्रहरीले शुक्रवार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
सिरहा नगरपालिका-७ महिसोथा स्थित ग्रामीण सडक खण्डमा प्र १-०१-०१४ प ४६२५ नम्बरको मोटरसाइकलमा सवार बराइलीले बोकेको झोलामा बिल बिजक नभएका सुनचाँदीका विभिन्न गरगहना फेला भएकाले नियन्त्रणमा लिइएको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले केटिएम दैनिकलाई बताए ।
उनको साथबाट चाँदीका बाला ६५ थान, ब्रासलेट ११ थान, चुरा २९ जना, रड एक थान गरी दुई हजार ६५४ ग्रामका चाँदीका गरगहनाहरू बरामद भएका छन् ।
त्यस्तै गरी सुन जडित हरियो पोते माला १८ थान, रातो पोते ३० थान, सेतो मोती माला ५ थान, खुल्ला चन्द्रमा ६ थान, पोतेमा जडित चक्र ८ थान र पोतेमा जडित मङ्गलसूत्र एक थान बरामद भएको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए ।
बरामद भएको सुनको तौल गर्दा २६ दशमलव ०५ ग्राम भएको बताइएको छ । बजार मूल्य अनुसार बरामद भएको सुनचाँदीको मूल्य पाँच लाख ५२ हजार ९०९ रुपैयाँ २७ पैसा हुन आउन सप्तरीले प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुनचाँदीका गरगहनासहित पक्राउ परेका बराइलीउपर थप अनुसन्धान भइरहेको छ ।