काठमाडौँ, ३२ श्रावण । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा संलग्न स्कुटर ट्राफिक चेकिङमा नपरेको देखिएको छ ।
शुक्रवार सार्वजनिक भएको सिसिटिभी फुटेजका अनुसार दुर्घटनाअघि चेकिङका लागि स्कुटर रोकिएको छैन ।
सार्वजनिक भएको भिडिओ अनुसार दुर्घटना स्थलनेर ट्राफिक चेकिङको लागि बसेका हुन्छन् उनीहरूले एक मोटरसाइकललाई रोकिराखेको देखिन्छ । तर, दुर्घटनामा परेको स्कुटर पनि ट्राफिक प्रहरीको चेकिङमा रोकिएको छैन ।
बिहीबार दिउँसो १:५९ बजेको समयमा मध्यपुरठिमी-३ गठ्ठाघरमा काठमाण्डौंबाट भक्तपुर तर्फ आउँदै गरेको ना. ६ ख. २१७३ नम्बरको ट्रकले सोही दिशा तर्फ आउँदै गरेको बा. ४९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ ।
भिडियोमा उक्त स्कुटर र ट्रक सँगसँगै गुडिरहेको देखिन्छ । तर अचानक ट्रकले स्कुटरलाई ठक्कर दिन्छ । ठक्करपछि ट्रकले सो स्कुटरलाई घिसारेको देखिन्छ ।
ट्रकले ठक्कर दिँदा स्कुटर चालकको शरीर क्षतविक्षत भएको दृश्य सिसिटिभीमा कैद भएको छ । दुर्घटनापश्चात् ट्रकको ड्राइभरतर्फको साइडबाट कोही भागेको जस्तो देखिन्छ उनी ट्रक चालक हुन सक्छन् ।
निधन हुने व्यक्तिको पहिचान खुल्यो
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ। मृतक ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ घर भई काठमाडौँको कपन बस्ने उत्तम कोइराला रहेको भक्तपुर परिसरका डिएसपी राजन कार्कीले बताए।
६५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ।
दुर्घटनापछि स्थानीयको अवरोधका कारण बिहीबार केही घण्टा गठ्ठाघर क्षेत्र तनावग्रस्त बन्न पुग्यो । भीड नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड हवाई फायर समेत गर्नुपरेको डिएसपी कार्कीले बताए ।
अनियन्त्रित भएको भीडमा परेर जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट, परिसर भक्तपुरमा कार्यरत सहायक हवलदार बहादुरे राउत र मध्यपुरठिमी-३ गठ्ठाघर बस्ने सौगात सापकोटा घाइते भएका थिए । उनीहरूको अवस्था अहिले सामान्य छ ।
भिड नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी परिसर भक्तपुरबाट ११८ जनाको प्रहरी टोली, काठमाडौँ स्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरूबाट १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिएको बताइएको छ ।
दुर्घटना भएको तीन घण्टापछि मात्र प्रहरीले सडकबाट शव उठाउन सफल भएको हो । भीडले गठ्ठाघर चोकमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट आक्रमण गरेको छ ।
ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका-२ बस्ने वर्ष ३२ को सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा परेको स्कुटर प्रहरी वृत्त ठिमीमा राखिएको छ ।
छानबिन गर्न गृहमन्त्रीको निर्देशन
यसैबिच गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा ट्राफिक चेकिङको कारणले दुर्घटना निम्ताएको र लामो समयसम्म पनि मृतक पुरुष वा महिला के हो भनेर छुट्टाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।