सिरहा, २८ श्रावण । १५ वर्षकी बालिकालाई जबरजस्ती करणी प्रयास गरेर फरार रहेका व्यक्तिलाई सिरहा प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ ।
२०८० साल भाद्र १४ गते राती एक १५ वर्षीय बालिकालाई करणी प्रयास गरेर वारदातपछि फरार रहेका अभियुक्तलाई सिरहा प्रहरीले शनिवार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-४ वडहरा बस्ने अन्दाजी २२ वर्षको शुशिल सदा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
‘घरनजिकै लुकेर बसेको रहेछ, हामीले शनिवार बिहान ८:३० बजे पक्राउ गरेका हौँ,’ एसपी पण्डितले केटिएम दैनिकलाई बताए ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी नायव निरीक्षक धर्मेन्द्र पौडेलको कमाण्डमा खटिएको टोलीले सदालाई निजकै घर नजिकबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
सदालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर जबरजस्ती करणी उद्योग अन्तरगत थप अनुसन्धान भइरहेको बताइएको छ ।