काठमाडौं, २५ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो ।
यस अवधिमा काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा २ सय ३ जना घाइते भएका छन् ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा १ सय १२ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४८ जना वेपत्ता भएका छन् ।
वेपत्ताको खोजी कार्य जारी छ ।
प्राधिकरणका अनुसार बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७० वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६४ वटा पशु चौपायको मृत्यु भएको छ ।
यस अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ९७ घर परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ ।