गोरखा, २३ श्रावण । एघार वर्षकी नाबालिकालाई बाह्र दिनसम्म करणी गरेको अभियोगमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट, बृन्दावन-५ घर भई हाल हेटौडा-४ बस्ने २१ वर्षको दिपेन्द्र दास रहेका छन् ।
उनले हेटौँडाबाट ११ वर्षकी एक नाबालिकालाई श्रावण ७ गते गोरखामा ल्याएर १२ दिनसम्म डर-त्रास देखाउँदै जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दरखास्त दिएका थिए ।
जाहेरीपश्चात् प्रहरीले दासलाई श्रावण २१ गते मकवानपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गोरखा लगेको हो । वारदातस्थल गोरखा जिल्ला भएकाले उनलाई गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
दासविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
नेपालको कानुनले १६ वर्ष भन्दा मुनिका बालिकाहरूकै मन्जुरीमा शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई जबरजस्ती करणी मान्दै पीडित बालिकाको उमेर र परिस्थिति हेरेर अभियुक्तलाई विभिन्न कैद सजाय, जरिवाना र क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।
कानुनले करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरेर वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई समेत मन्जुरी मानिने छैन भनेर स्पष्ट भनेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा ३ (ख) का अनुसार दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गर्ने व्यक्तिलाई अठार वर्षदेखि बिस वर्षसम्म कैद सजाय, सात लाख रुपैयाँ जरिवाना र पीडितलाई उचित क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।
अपडेट : हेटौँडाबाट गोरखा पुर्याएर बालिकालाई १२ दिनसम्म करणी गर्ने युवक जेल चलान