काठमाडौं, २३ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो ।
यस अवधिमा काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १० जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५० जना वेपत्ता भएका छन् ।
वेपत्ताको खोजी कार्य जारी रहेको नेपाल प्रहरी मुख्यालयले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६३ वटा पशु चौपायको मृत्यु भएको छ ।
यस अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले केटिएम दैनिकलाई बताए।