बागलुङ, २३ श्रावण । मङ्गलवार पहिरोमा परेर घाइते भएका जिल्लाको बडिगाड गाउँपालिका-९ का तीन जनालाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार पहिरोमा परेर घाइते भएकामध्ये १९ वर्षकी रिमा पुन, ३१ बर्सिया सिता थापा र ४६ वर्षकी संगिता बुढाको आज बिहान ९:२१ बजे हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उनीहरूलाई त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याइने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘हिजो नै हेलिकप्टर लैजाने तयारी थियो तर मौसममा आएको खराबीको कारण आज बिहान मात्र घटनास्थल नजिक हेलिकप्टर ल्याण्ड गरेर घाइतेको उद्धार गरिएको हो ।’
मङ्गलवार बिहान ११:२० बजे बडिगाड-१० आरुपाट भन्ने स्थानमा माथिबाट आएको पहिरोमा परेर घटनास्थलमै पाँच जना र उपचारको क्रममा एक जनाको निधन भएको छ ।
उक्त पहिरोमा परेर चार जना बेपत्ता छन् । पहिरोमा पुरिएको आशङ्कामा तीन वटै सुरक्षा निकाय र स्थानीयको सहयोगमा खोजी कार्य जारी राखिएको छ । पहिरोमा पुरिएकामा सात वर्षकी मधु बुढा, दश वर्षका मनोज बुढा, तीन वर्षका आरुष थापा र ११ वर्षका यमलाल वि.क. रहेको प्रहरीले जनाएको छ ।
उक्त पहिरोमा परेर घाइते हुनेको सङ्ख्या १० पुगेको छ । घाइतेमध्ये तीन जनाको हेलिकप्टरबाट उद्धार हुँदा, चार घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी बुर्तिबाङ लगिएको छ ।
घाइते लिन गएको हेलिकप्टरमा जिल्ला सदरमुकामदेखि चिकित्सकसहितको टोली गएको छ । उक्त टोलीले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
पहिरोमा परेर स्थानीय ७० वर्षकी मोति देवी कामी, सिर्जना वि.क.को ६ महिनाकी छोरी सिता वि.क., सात वर्षकी मालती बुढा, आठ वर्षको अमल बुढा र ११ वर्षकी सिता पुनको घटनास्थलमै निधन भएको हो ।
पहिरोले घर गोठ बगाएका घरधनी जोग बहादुर बुढाको हिजो बेलुका १८:५० बजे निधन भएको डिएसपी यादवले बताए ।
घाइतेको विवरण
१. बागलुङ बडिगाड गा.पा.१० बस्ने वर्ष २६ को ओम प्रकाश पुन ढाडमा चोट (मध्यम) ।
२. ऐ. बस्ने वर्ष ४६ की संगिता बुढा दाहिने कुम फुस्केको, घुँडामा चोट (मध्यम)
३. ऐ. बस्ने वर्ष २३ की सिर्जना वि.क. छाती र खुट्टामा चोट (मध्यम) ।
४. ऐ. बस्ने वर्ष ४३ को मंगल सेन बुढा खुट्टा र टाउकोमा चोट (मध्यम) ।
५. ऐ. बस्ने वर्ष १९ की रिमा पुन टाउको र अनुहारमा चोट (मध्यम) ।
६. ऐ. बस्ने वर्ष ६० की सुमित्रा वि.क. कोख ,टाउको र खुट्टामा चोट (सिरियस) ।
७. ऐ. बस्ने वर्ष ५१ को ससिराम वि.क. अनुहार छाती र घुँडामा चोट (मध्यम) ।
८. ऐ. बस्ने वर्ष ०९ को ज्ञाने बुढा टाउकोमा चोट (मध्यम) ।
९. ऐ. बस्ने वर्ष ३१ की सिता थापा ढाड र खुट्टामा चोट (मध्यम) ।
१०. ऐ. बस्ने वर्ष ५० की जौमती बुढा टाउकोमा चोट अवस्था (मध्यम) ।