काठमाडौँ, २३ श्रावण । बाढी पहिरो, डुबान लगायतका मनसुनजन्य विपद्का कारण एकै दिन ११ व्यक्तिको ज्यान गुमेको छ ।
नेपाल प्रहरीका अनुसार सोमबारसम्म यस्तो विपद्मा परेर १५४ जनाको निधन भएकोमा मङ्गलवार थप ११ जनाको निधन भएको हो ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मङ्गलवार दिउँसोसम्म १ सय ६५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यस अवधिमा काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९८ जना घाइते भएका छन् ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचारको भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेश पाँच ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा पाँच जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५१ जना बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी कार्य जारी छ ।
प्राधिकरणका अनुसार बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ५० वटा पशु चौपायाको मृत्यु भएको छ ।
यस अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।