बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिमा पहिरोमा परेर *सात जनाको निधन भएको छ ।
उक्त पालिकाको वडा नम्बर ९ र १० मा पहिरो जाँदा सात जनाको निधन भएको र चारजना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
आज बिहान १०:०५ बजेको समयमा वडिगाड-९ बलघाँस बस्ने श्याम परियारको घर पछाडी अन्दाजी २० मिटर माथिबाट पहिरो आउँदा उनको छोरा १५ वर्षको विदान परियारको निधन भएको हो ।
पहिरोमा पुरिएका परियारको शव घटनास्थलबाट निकालिएको डिएसपी यादवले बताए । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको वडाध्यक्ष कृष्ण बहादुर के.सी.ले जानकारी दिए ।
त्यस्तै सोही वडाको दर्लिङ काभ्राखर्कमा आज दिउँसो १:३० बजे गोरेटो बाटोमा हिँडिरहेका स्थानीय २४ वर्षका गंगा बस्नेतमाथि पहिरो खसेको खस्दा उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय भिमगिठ्ठेले जनाएको छ ।
सोही पालिकाको १० नम्बर वडामा पर्ने आरुपाट भन्ने स्थानमा पहिरोले घरगोठ बगाउँदा छ महिने बालिकासहित पाँच जनाको निधन भएको छ ।
प्रहरीका अनुसार जोग बहादुर बुढाको कच्ची घर र गोठ भएको स्थानमा माथिबाट आज दिउँसो ११:२० बजेको समयमा पहिरो आएको हो ।
पहिरोमा परेर निधन हुनेमा ७० वर्षीया मोति देवी कामी, स्थानीय सिर्जना वि.क. को ६ महिनाको छोरी सिता वि.क. , सात वर्षकी मालती बुढा, आठ वर्षको अमल बुढा र ११ वर्षीया सीता पुन रहेका छन् ।
पहिरोमा चार जना पुरिएको आशंकामा खोजतलास भइरहेको छ । बेपत्ता हुनेमा ६० वर्षीया मधु बुढा, १० वर्षको मनोज बुढा, तीन वर्षको आरुष थापा र ११ वर्षको सुमन वि.क. रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पहिरोमा परेर घाइते हुनेमा ओम प्रकाश पुन, संगिता बुढा, सिर्जना वि.क., मंगल सेन बुढा, रपमा पुन, सुमित्रा वि.क., जोग बहादुर बुढा, ससिराम वि.क., ज्ञाने बुढा र सीता थापा रहेका छन् ।
घाइतेमध्ये सुमित्रा वि.क. र जोग बहादुर बुढाको अवस्था गम्भिर रहेको जनाइएको छ ।
घरगोठ बगाएको स्थान जिल्ला प्रहरी कार्यालय बागलुङदेखि ४० किलोमिटर पश्चिम दक्षिणमा पर्दछ ।
*यसअगाडि प्रकाशित समाचारमा मृतक संख्या वडाध्यक्षको भनाईको आधारमा सहायक प्रमुख जिल्ला अधिकारीले दिएको विवरण अनुसार राखिएको हो । दिउँसो ४:१० बजेको समयमा नेपाल प्रहरी लगायतका अन्य सुरक्षा निकाय घटनास्थलमा पुगेपछि मृतकको संख्या सात भएको एकिन भएसँगै थप विवरणअनुसार समाचार अध्यावधिक गरिएको जानकारी गराइन्छ ।