पोखरा, २० साउन । बीमा रकम दाबी गर्नको लागि पसल सञ्चालकले साथिको सहयोग लिएर आफ्नै पसलमा आगो लगाएको खुलेको छ ।
बुधबार बिहान २:१० पोखरा महानगर-६ नारेश्वरचोकमा रहेको डा. थानेश्वर पहारीको घरमा भाडा लिएर सुजन गहतराजले सञ्चालन गरिरहेको मुक्तिनाथ सपिङ्ग सेन्टर प्रा.लि. मा आगलागी भएको थियो ।
आगलागी पश्चात वडा प्रहरी कार्यालय वैदाम कास्कीका प्रमुख डिएसपी सन्तोष निरौलाको कमाण्डको प्रहरी कर्मचारीहरु, पोखरा महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी वल नेपालका सुरक्षाकर्मी र स्थानिय मानिसहरु समेतको संयुक्त प्रयासमा बिहान ३:०५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीसँग प्रारम्भिक बयानको क्रममा पसल सञ्चालक सुजन गहतराजले नयाँ ईनभटर जडान गरेको थिए, सोही ईनभटरको वाईरिङवाट सर्ट भई आगो लागेको बताएका थिए ।
उनले पसलको विमा समेत नभएको प्रारम्भिक बयानको क्रममा बताएको जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसंग वुझ्दा ईनभटरबाट आगो नलाग्ने तर, जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफ पायो ।
त्यस्तैगरी अनुसन्धानको क्रममा बिधुत प्राधिकरणसंग वुझ्दा बिधुतबाट कुनै कैफियत नरहेको भन्ने जवाफ आयो ।
प्रहरी अनुसन्धानकै क्रममा हिमालयन एभरेष्ट ईनसुरेन्स लिमिटेड पोखरा न्युरोडबाट उक्त पसलको ईन्सुरेन्स गरेको र श्रावण १७ गते गते बीमा दावीको लागि निबेदन पेश गरेको पायो ।
साथै पसल सञ्चालकले वडा प्रहरी कार्यालय वैदाममा सोही दिन मुक्तिनाथ सपिङ्ग सेन्टरमा के कसरी आगो लागेको भनी थप अनुसन्धान गर्न निवेदन दिए ।
अनुसन्धान गरिरहेको प्रहरीको सुई त्यसपछि भने यो आगलागी अचानक नभएर जानीजानी लगाइएको हो कि भन्नेतर्फ मोडियो ।
अनुसन्धानको क्रममा हिमालयन एभरेष्ट ईन्सुरेन्स लिमिटेड पोखरा न्युरोड शाखामा पसल संचालकले २ करोड १० लाख बराबरको ईन्सुरेन्स गरेको भन्ने जवाफ प्राप्त भएणसँगै प्रहरीको आशंका झन् बलियो बन्दै गयो ।
त्यसपछी प्रहरीले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ अगाडि बढायो ।उनले प्रहरीसामू पसलसमेत खासै नचलेको बताउँदै बिमाको लोभमा पोखरा १७ निवासी पवन नेपालको सहयोगमा आगो लगाउने योजना बनाएको बताए ।
सोही योजनामुताविक गहतराजले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेका थिए । घटना भएको दिन राति करिब ११ बजे उनले साथी नेपालसँग पोखरा-१७ ड्यामसाइडको फेवा झिर रेष्टुरेण्टमा ५ वटा बियर पिउँछन् । पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने नेपालको सुझावअनुसार त्यही राति नै आगो लगाउने सरसल्लाह हुन्छ ।
गहतराजले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन् । उनीहरु सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन् । निजहरू दुवैजना १०-१५ मिनेटभित्र बसी बाहिर निस्की गहतराजले सटर लगाइ आफू हतार–हतार गरी सोही गाडी चढी नजिकैको तालबाराही स्कुलतर्फ लाग्छन् । त्यसबेला नेपाल पसलको वाहिरपट्टी बसिरहेका थिए । उनीहरु गाडी चढ्दैनन् । गहतराज गएको अन्दाजी १-२ सेकेण्डमै नेपालले सलाई बाली एक्कासि आगो सल्काएको अनुसन्धानमा भेटिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले बताए ।
उता, नेपालसँग प्रारम्भिक सोधपुछमा आफूले पश्चिमाञ्चल एकिकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट ३१ लाख बिमा लिएको र गहतराज सोही कुराबाट प्रभावित भई योजना बनाएको बताएका छन् ।
निजहरु दुबैजनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त आपराधिक क्रियाकलापमा संलग्नमध्ये नेपालको यसअघि कुनै आपराधिक क्रियाकलापको विवरण नभेटिएको प्रहरीले जनायो । तर, पसल संचालक गहतराज भने २०७२ सालमा पनि जुद्दा मुद्दामा पक्राउ परेका थिए ।