काठमाडौं, ९ भदौ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको हो ।
यस अवधिमा काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ६२ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ५१ जना घाइते भएका छन् ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५४ जना वेपत्ता भएका छन् ।
वेपत्ताको खोजी कार्य जारी छ ।
प्राधिकरणका अनुसार बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय २३ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय २४ वटा पशु चौपायको मृत्यु भएको छ ।
यस अवधिमा विपद्का घटनाबाट ६ हजार ४४ घर परिवार विस्थापित भएका छन् ।