रामेछाप, ९ भाद्र । रामेछापमा पहिरोका कारण तीन वटा घर बगेका छन् भने एक घर पुरिएको छ ।
जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखखर्कमा रहेको पहरीगाउँमा आज बिहान ३:३५ बजे माथिबाट पहिरो आएको हो ।
यो समाचार तयार पार्दासम्म पहिरोमा परेर पुरिएका दुईवटा घरबाट ६ शव निकालिएको छ ।
पहिरोबाट बाहिर झिकिएका दुईवटा शवको सनाखत भइसकेको छ भने बाँकी ४ शवको सनाखत हुन बाँकी नै छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदिप कुमार सिंहका अनुसार दोरम्बा शैलुङ गाउँपालिका-३ लेखखर्क बस्ने बर्ष ३० की चण्डिका श्रेष्ठ र १८ महिनाको बालक आमुष श्रेष्ठको पहिचान खुलेको हो । उनीहरू आमा छोरा भएको बताइएको छ ।
पहिरोले बगेको एक घरबाट यी दुईवटा शव निकालिएको हो भने अर्को घरबाट पनि भर्खरै चारजनाको शव निकालिएको छ । स्थानीय ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षको सन्तोष पहरी र १५ वर्षको विज्ञान पहरीको शव फेला परेको हो ।
पहिरोमा परेर ११ वर्षको अन्जना श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको बताइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट कार्यलय प्रमुखको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय टोकरपुरबाट प्रहरी निरीक्षक सानुकान्छा रम्तेलको कमाण्डमा १२ जनाको टोली खटिएको छ ।
स्थानीय र सुरक्षाकर्मीले पहिरोमा बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजतलास जारी राखेको बताइएको छ ।