जावलाखेल ३७– झट्ट पढ्दा–सुन्दा यो जावलाखेल क्षेत्रको कुनै ठाउँको नाम हो भन्ने लाग्न सक्छ । तपाईँलाई त्यस्तो लाग्यो भने त्यो गलत हो । वास्तवमा जावलाखेल– ३७ कुनै ठाउँको नाम होइन । यो त जबरजस्ती करणी उद्योगबाट संयोगवश जोगिएकी एक युवतीलाई प्रहरीले दिएको गोप्य नाम हो ।
घटना विवरण
आफ्नो उच्चशिक्षाको पढाइलाई निरन्तरता दिँदै आत्मनिर्भर बन्ने कोसिसमा जुटेकी एक २० बर्सिया युवतीमाथि साउन ३ गते भएको घटना हो यो । कामको खोजीमा रहेकी ती युवतीलाई ४१ वर्षीय अधबैँसेले घरबाटै गर्न सकिने काम दिन सक्ने प्रस्ताव गर्छन् । ती अधबैँसे युवकको नाम हो– महेश नेपाली । उनको स्थायी ठेगाना दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १५ हो । महेशका आफन्तका अनुसार उनका बालबच्चा र आमाबुबा ललितपुरको बालकुमारी क्षेत्रमा डेरा गरेर बस्छन् । कामको सिलसिलामा उनी काठमाडौँ उपत्यका आउने जाने गरिरहन्छन् ।
उनी इन्जिनियर रहेको बताइए पनि जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले उनको पेशाको बारेमा थप केही कुरा नखुलेको केटिएम दैनिकलाई बताए । तर तुलसीपुर उपमहानगर-१५ का वडाध्यक्ष लक्ष्मण चौधरीले उनी इन्जिनियर भएको बताए ।
बालकुमारीमा विगमार्टको एउटा शाखा छ । ती २० बर्सिया युवती कुनै बेला त्यस शाखामा काम गर्ने गर्थिन् । ती महेश नेपाली पनि विगमार्टका प्रमुख ग्राहकहरूमध्ये एक थिए । विगमार्टले आफ्ना मुख्य ग्राहकहरूलाई विभिन्न छुटहरूको अफरको जानकारी गराउने गर्छन् । सोही सिलसिलामा महेश नेपाली र ती युवतीबीच चिनजान भएको थियो । विगमार्टका सामानहरू र अफरहरूका बारेमा जानकारी दिने सिलसिलामा ती दुई बीच चिनजान भएको हो ।
यसबीच महेश नेपालीले दुई तीन पटक विगमार्टका सामानहरूबारे सोध्न ती युवतीलाई फोन सम्पर्क गरेका थिए । तर ती युवतीको त्यहाँबाट सरुवा भइसकेको थियो । उनले सोही बताउँदै सोझै बालकुमारीको मार्टमा गएर बुझ्न अनुरोध गरिन् ।
यसबीच महेश नेपालीले साउन ४ गतेको दिन ती युवतीलाई फोन गरे । उनले फोनमा युवतीलाई सोधे– तिमीलाई एक्सेलमा डाटा इन्ट्री गर्न आउँछ ? म वर्क फ्रम होम (घरमै बसेर गर्न मिल्ने काम) दिन सक्छु !
व्यावसायिक चिनजान भएको, पहिले आफूले काम गरेको मार्टमा राम्रो ग्राहकको छवि बनाएका महेश नेपालीको प्रस्तावमा यौन शोषण गर्ने कुत्सित मनसाय लुकेको छ भन्ने कुरा ती युवतीले सोच्ने कुरै भएन । घरबाट टाढा रहेर पढाइ गरिरहेकी, आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बन्न खोजिरहेकी उनले ‘हुन्छ सर !’ भनेर जवाफ दिइन् । महेश नेपालीले ती युवतीलाई कोटेश्वरमा आउन भने ।
आफू काममा रहेकोले तत्काल आउने नसक्ने बरु बालकुमारीतिरै भेट्न सकिने तर तीन बजेपछि मात्रै समय निकाल्न सक्ने भनेर युवतीले महेश नेपालीलाई बताइन् । महेश नेपालीले ती युवतीलाई बालकुमारीस्थित कुसुम कलेजको गेटमा आउन भनी बोलाए ।
बेलुकी ५:३० बजेको आसपास ती युवती कुसुम कलेजको गेटमा पुगिन् । महेश नेपाली त्यहाँ उनलाई पर्खेर बसेका थिए । महेशले कामको कुरा गर्न नजिकको सनराइज क्याफेमा जान प्रस्ताव गरे । पहिले आफू चिया खान गइसकेको क्याफे भएकोले ती युवती असहज नमानी गइन् ।
जब महेशले कोठातिर लान खोजे !
सनराइज क्याफेको पार्किङमा बाइक रोकेर भित्र पस्ने बित्तिकै भर्याङ छ । त्यसको अगाडिपट्टि खाने ठाउँ छ । माथिल्लो तलातिर पनि खाने ठाउँ नै छ । अझ माथिल्लो तलामा पार्टी गर्ने ठाउँ तथा त्यसभन्दा माथि चाहिँ कोठाहरू छन् ।
क्याफे सञ्चालकका अनुसार ‘त्यहाँ १५० क्षमताको विवाह, व्रतबन्ध लगायतका कार्यक्रमहरूको पार्टी समेत गर्न सकिने हल छ । पार्टीमा आएका तथा काठमाडौँमा बस्ने सुविधा नभएकाहरूका लागि ग्राहककै अनुरोधमा उनीहरूलाई बस्नका लागि ती कोठाहरू बनाइएका हुन् ।’
ती युवती क्याफेको तल्लो तलाको खाने ठाउँतिर बढे तर महेश नेपालीले कुरा गर्ने ठाउँ माथि छ भनेर भ्याङ्ग चढे । सामान्यतः हरेक क्याफेहरूमा माथिल्ला तलाहरूमा पनि खाने ठाउँ हुन्छन् । त्यही सोचेर ती युवती महेश नेपालीको पछिपछि लागेर माथिल्लो तलातिर गइन् । माथिबाट पनि अझ माथिल्लो तलामा जाँदै गर्दा जब महेश नेपालीले गोजीबाट चाबी निकालेर कोठाको ढोका खोल्न थाले, ती युवतीको मनमा चिसो पस्यो । कामको बारेमा कुरा गर्न बोलाएको महेश नेपालीले कोठाको चाबी खोल्न थालेपछि ती युवतीले आपत्ति जनाइन् ।
‘कुरा गर्ने भए खुला ठाउँमा कुरा गरौँ सर, कोठामा बसेर म कुरा गर्दिनँ, मलाई सहज महसुस हुँदैन’ भनिन् । महेशले ‘कोठामा ल्यापटप छ, म कामबारे सिकाउँछु, केही हुँदैन’ भनेर फकाउन खोजे । उनको कुत्सित नियत बुझेर स्तब्ध बनेकी ती युवती बीच भर्याङबाटै फरक्क फर्किन खोजिन् । तर हट्टाकट्टा महेशले अप्रत्याशित रूपमा ती युवतीको हात च्याप्पै समातेर कोठातिर लतारेर तान्न खोजे । युवतीले प्रतिरोध गर्न खोजिन् तर सानो जिउडालकी युवतीले ती बलिया अधबैँसेको पकडबाट आफूलाई छुटाउन सकिनन् ।
जब क्याफेका कर्मचारी उद्धारक बनेर आइपुगे !
एउटा अधबैँसे युवाले एउटी सानी युवतीलाई क्याफेको कोठातिर लान खोजेको सोही क्याफेमा काम गर्ने एक युवालाई अस्वाभाविक लागिरहेको थियो । त्यसैले महेश नेपालीको नियत ठिक नलागेर क्याफेमा आएदेखि नै उनको क्रियाकलापमाथि निगरानी गरिरहेका थिए । जसै महेश नेपालीले ती युवतीलाई बलजफती तानेर कोठातिर लान खोजे, ती युवा दौडेर त्यहाँ गई महेशलाई हकारे– ‘ए सर तपाईँले यो के गरेको ?’ महेश आत्तिए, उनले युवतीको हात छोडे । ती युवाले युवतीलाई तलतिर जान भने । हल्लाखल्ला सुनेर क्याफेका अरू पनि आइपुगे । उनीहरूले महेशलाई समातेर तलको कोठामा राखे ।
प्रहरीलाई खबर गरियो
आफूले सोच्दै नसोचेको यो घटनाबाट स्तब्ध बनेकी युवतीले आत्तिएर केही सोच्नै सकिनन् । मोबाइलबाट प्रहरीमा खबर गर्न खोजे तर सधैँ सम्झने १०० नम्बर डायल गर्न पनि उनलाई होस भएन । उनी चिच्याइन्– ‘प्रहरी बोलाइदिनु, प्रहरी बोलाइदिनु ।’
योजनाबद्ध ढङ्गले बलात्कारको मनसायका साथ युवतीलाई क्याफेमा लगेका महेश ढिठ रहेछन् । पहिले त उनले आफूले गलत नियतले त्यसो नगरेको अड्डी लिए । तर आफू उम्कन नसक्ने वातावरण बन्दै गएको देखेपछि महेश नेपालीले ‘आइन्दा यस्तो नगर्ने, एक पटकलाई माफी दिनु’ भनेर मामिलालाई रफादफा गर्न खोजे । तर ती युवतीले ‘प्रहरी डाक्ने भए डाकिदिइहाल्नु नत्र म सबै कुरा सोसियल मिडियामा अपलोड गरिदिन्छु’ भन्दै कराइन् । उनको कुरा सुनेपछि क्याफेकै कसैले प्रहरीलाई खबर गरिदिए । तत्काल प्रहरी आइपुग्यो र महेश नेपालीलाई कब्जामा लियो ।
लगियो मंगलबजार चौकीमा
ग्वार्को चोकमा प्रहरीकै गाडीमा राखेर प्रारम्भिक सोधपुछपछि प्रहरीले महेश नेपालीलाई मंगलबजार चौकीमा लग्यो । त्यतिन्जेल ती युवतीले आफ्ना स्थानीय अविभावकहरु तथा आफूले काम गरेका मार्टका सिनियर दाजुहरूलाई हारगुहार गरेर बोलाइसकेकी थिइन् । सबैजना मंगलबजार चौकीतिर लागे ।
मंगलबजार चौकीमा त्यहाँका इन्चार्ज प्रहरी इन्स्पेक्टरले दुवै पक्षलाई सोधपुछ गरेर बयान टिपोट गरे । युवतीले घटना वर्णन गरिन् । महेश नेपालीले आफ्नो बचाउमा ‘आफ्नो उद्देश्य खराब नरहेको, आफ्नो शेयरको कारोबारहरू भएकोले एक्सेल प्रोगाममा त्यसको डाटा इन्ट्री गर्ने काम दिन खोजेको’ बताए ।
युवतीका स्थानीय अभिभावकले नेपालीलाई ‘काम दिन बोलाएको हो भने खुला ठाउँमा कुराकानी नगरेर ती युवतीले इन्कार गर्दा गर्दै पनि किन जबरजस्ती कोठाभित्र तानेर लान खोजेको ? कामको कुरा गर्न कसैले क्याफेमा कोठा बुक गरेर जबरजस्ती लैजान खोज्छ ?’ भनेर कडिकडाउ केरकार गरेपछि उनले खासै जवाफ दिन सकेनन् । त्यसबीचमा युवतीलाई बलात्कृत हुनबाट बचाउने क्याफेका युवकलाई पनि प्रहरीले सोधपुछ गर्यो । ती युवकले पनि ‘महेश नेपालीको चालढालबाट आफूलाई सुरुदेखि नै शङ्का लागेको, तिनले ती युवतीलाई माथि कोठातिर लगेको देखपछि आफूले निगरानी गरेको र हात तानेर जबरजस्ती कोठातिर लान खोजेपछि दौडिँदै गएर नेपालीलाई ‘ए दाइ यो के गरेको ?’ भनी झपारेको र युवतीलाई उद्धार गरेर ती नेपालीलाई भाग्नबाट रोकेको’ बयान दिए ।
यस्ता घटनाका मुद्दा जावलाखेल परिसरबाट चल्ने भएको बताउँदै चौकी इन्चार्जले पीडित युवती र तिनका अभिभावकहरूलाई भोलिपल्ट बिहान जावलाखेल प्रहरी परिसरमा लिखित उजुरी दिन सुझाव दिए । महेश नेपालीलाई मंगलबजार चौकीमा ‘सरकारी पाहुना’ बनाएर राखे ।
प्रहरीको ‘जिरो टोलरेन्स पोलिसी’
भोलिपल्ट युवती र उनका स्थानीय अभिभावकहरू लिखित जाहेरी गर्न जावलाखेल प्रहरी परिसर पुगे । प्रहरी परिसरले घटनालाई गम्भीर रूपमा लियो । परिसरका वरिष्ठ अधिकृतहरूले युवतीलाई ‘यस्तो गम्भीर प्रकृतिको अपराधमा प्रहरीको जिरो टोलरेन्स पोलिसी रहने र निर्धक्क भएर मुद्दा दर्ता गर्न’ भनी आश्वस्त तुल्याए। जाहेरीका लागि परिसरका कोठा नम्बर १४ मा जान भनियो । त्यहाँका अनुसन्धान अधिकृतहरूले पनि आफूहरूले यस घटनालाई गम्भीर रूपमा लिएको बताउँदै युवतीसँग पुनः प्रारम्भिक सोधपुछ गर्यो ।
सुरुमा बलात्कारको उद्यम गर्ने महेश नेपालीमाथि के मुद्दा चलाउने भन्नेबारे केही अलमल भयो । मुलुकी संहिताका कतिपय प्रावधानहरूले कानुनी भाषामा ‘जबरजस्ती करणी’ अर्थात् ज.क. भनिने बलात्कार तथा बलात्कारको उद्यममा कारबाही चलाउनेबारेमा कतिपय ठाउँमा प्रहरीको पनि हात बाँधेको देखियो ।
युवतीको उमेर २० वर्ष भएकै कारण बलात्कारको उद्यम गर्ने महेश नेपालीमाथि संहिताको धारा २२४ अनुसार मुद्दा चलाउन प्रहरीलाई कानुनले नै वञ्चित गरेको रहेछ । त्यसअनुसारको मुद्दा व्यक्तिवादी फौजदारी हुने रहेछ, जसको सोझो अर्थ बलात्कारी वा बलात्कारको उद्यम गर्नेलाई सो दफाले सहुलियत दिएको रहेछ भन्दा पनि फरक नपर्ने रहेछ । तर युवतीमाथि भएका अन्यायका बारेमा थाहा पाएका कानुन व्यवसायीहरू समेतको सल्लाहमा अन्ततः महेश नेपालीमाथि मुलुकी संहिताको धारा ३४ र २१९ अनुसार जबरजस्ती करणीको उद्योगमा जाहेरी दर्ता भएको छ ।
वडाध्यक्ष भन्छन् : समाजमा गन्यमान्य व्यक्ति हो
तुलसीपुर उपमहानगर-१५ का वडाध्यक्ष लक्ष्मण चौधरीले महेश नेपालीलाई नजिकसँग चिनेको बताउँदै यसअगाडि उनीमाथि यस प्रकारका वा अन्य कुनै घटना प्रहरीमा दर्ता भएको जानकारी आफूसँग नरहेको जनाए ।
केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा वडाध्यक्षले भने, ‘गरिब परिवारमा जन्मेको हो महेश । मैले उसको परिवारलाई राम्रोसँग चिन्छु । खै त्यस्तो गर्ला जस्तो त लाग्दैन । समाजको गन्यमान्य व्यक्तिको रूपमा उसको पहिचान छ । दुःख गरेर पढेर अहिले सरकारी जागिर खाएको छ । ’ उनले थपे ‘यो कुरा मैले तपाईँबाट थाहा पाए । प्रहरीले अनुसन्धान गरिरहेको रहेछ यदि दोषी हो भने कानुनबमोजिम कारबाही होला ।’
केही जरुरी प्रश्नहरू र सम्भाव्य चलखेल
जबरजस्ती करणीको उद्योगमा मुद्दा त दर्ता भएको छ तर मुद्दालाई प्रभावित गर्न वा ‘डिरेल्ड’ गर्न चलखेल हुने सम्भावना पनि उत्तिकै छ । यो गम्भीर प्रकृतिको अपराधको घटनामा ती युवती संयोगले बचेकी छिन्, क्याफेका ती समझदार कर्मचारीका कारण घटनाले दुखान्त मोड लिन पाएन । तर यस प्रकरणमा घटना बलात्कारको तहमा घटित भई नहालेको कारण क्षति भई नहालेको, यो जबरजस्ती करणीको उद्योगभन्दा पनि अभद्र व्यवहार मात्रै भएको जस्ता भाष्यहरू स्थापित गर्ने चलखेलको खतरा पनि बढ्ने देखिन्छ ।
मुद्दालाई प्रभावित गर्न राजनीतिक दबाब दिने खेल पनि सुरु हुन सक्ने पीडित पक्षको आशङ्का छ । आत्मनिर्भर हुने अठोटका साथ कामका खोजीमा रहेकी तथा सोही सिलसिलामा पहिले व्यवसायको सिलसिलामा सामान्य चिनजान रहेका कथित रोजगारदाताले क्याफेमा बोलाएका कारण विश्वास गरेर ती युवती भेट्न पुगेकी हुन् । तर ‘सङ्क्रमित मानसिकता’ भएकाहरूले यस घटनामा सजिलै युवतीलाई दोषी देखाउन खोज्ने सम्भावना विगतका घटनाहरूले देखाइसकेको छ ।
तर यस प्रकरणमा सन्तुलित मस्तिष्क भएकाहरूले निम्न प्रश्नहरूको उत्तर खोज्नु जरुरी छ, जसले महेश नेपालीले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसेर काम गर्न सकिने कुराको प्रलोभन देखाएर ती युवतीलाई बलात्कार गर्ने उद्यम गरेका हुन् भन्ने कुरा सहजै प्रमाणित हुन्छ –
१. कामको कुराकानी गर्न बोलाएका हुन् भने महेश नेपालीले किन क्याफेका अन्य ग्राहकहरू पनि हुने टेबुलहरू भएको स्थानमा कुरा गर्न चाहेनन् ?
२. कामको कुरा गर्नको लागि उनले किन क्याफेमा कोठा नै बुक गरेर राखे ?
३. क्याफेमा कोठा बुक गर्दा उनले किन आफ्नो सक्कली नाम लेखेनन् ? किन छद्म नाम ‘आशिष अधिकारी’को नाममा कोठा बुक गरे ? यसबाट उनको ‘आपराधिक मनसाय’ (Criminal motive) थियो भनेर स्वतः झल्कँदैन र ?
४. महेश नेपालीले गोजीबाट चाबी झिकेर कोठाको ढोका खोल्न थालेपछि ती युवतीलाई शङ्का लागेर ‘कुरा गर्ने भए खुला ठाउँमा कुरा गरौँ, कोठामा कुरा गर्दिनँ, मलाई सहज महसुस भएको छैन’ भनेकी थिइन् । युवतीलाई असहज लागेपछि किन महेश नेपालीले त्यसलाई स्विकारेनन् जबकि उनको नियत सफा हुन्थ्यो भने कुराकानी गर्नका लागि तल खुला टेबुलमै जान उनी तयार हुनुपर्थ्यो । उनले किन एक्कासि ती युवतीको हात समातेर तानेर कोठा भित्रतिर लान खोजे ?
५. क्याफेका युवा कर्मचारीले सुझबुझ नदेखाएको भए मोटा घाटा शरीर भएका महेश नेपालीले सानो कदकी ती युवतीलाई कोठामा जबरजस्ती घिसारेर सहजै लान सक्थ्यो । त्यसको परिणाम बलात्कार गर्ने महेश नेपालीको कुत्सित आपराधिक मनसाय सहजै सफल हुँदैन थियो ? के यस प्रकरणमा युवती बलात्कृत हुनै पर्थ्यो अनि मात्रै उनी यौन दुर्व्यवहारको शिकार भएको मान्नुपर्ने हो ?
६. इन्जिनियर रहेका महेश नेपालीले आफ्नो शेयर कारोबारको हिसाब राख्न अलग्गै मानिस राख्नुपर्ने जरुरत के रह्यो ? सामान्यतः आर्थिक गोपनीयता भङ्ग हुने भयले मानिसहरूले शेयरका कारोबारबारे अरूलाई जानकारी वा थाहा दिन चाहँदैनन् । के यो उनको युवतीहरूलाई कामको प्रलोभन दिन फसाउने चालबाजी मात्रै त होइन ?
७. के साँच्चै नै महेश नेपालीको शेयर कारोबारको हिसाब एउटा कर्मचारी नै राख्ने गरी गर्नुपर्ने खालको छ ? साँच्चै नै छ भने त्यत्रो शेयरको कारोबार गर्ने उनको सम्पत्तिको स्रोत के हो ? उनको कमाइको वैधानिक स्रोतबारे अख्तियारले छानबिन गर्नुपर्ला कि नपर्ला ?
८. के कामको प्रलोभन देखाएर युवतीहरूलाई यौन शोषणको शिकार बनाउने महेश नेपालीको धन्दा नै त होइन ? कतै यसअघि पनि उनले यस्तै घटनाहरू घटाइसकेका त छैनन् ?
यस प्रकरणमा ती युवती संयोगवश बलात्कृत हुनबाट बचेकी छिन् । उनी यसलाई कानुनी टुङ्गोमा पुर्याउन दृढ छिन् । केटिएम दैनिकसँग सम्पर्कमा आएकी युवती भन्छिन्– ‘ममाथि जुन घटना भयो, त्यसो आधारमा हेर्दा महेश नेपालीले थुप्रै युवतीहरूलाई यौन शोषण गरेको हुनुपर्छ । मैले यो सवालमा बोलिनँ भने भविष्यमा निजबाट अरू थुप्रै युवतीहरू यौन शोषणको शिकार बन्नेछन् । त्यसैले म यो लडाइँ अन्तिम समयसम्मै लड्ने छु ताकि भविष्यमा थुप्रै युवतीहरूको भविष्य बरबाद हुन नपाओस् ।’
एउटा ‘यौन पिपासु’ का विरुद्ध ती युवतीले थालेकी न्यायको लडाइँलाई ‘डिरेल्ड’ गर्न अब कोको नाङ्गिएर देखा पर्ने हुन्, अनि यस मुद्दामा अन्तिम समयसम्म लड्न उद्यत ती युवतीको पक्षमा उभिन को को तयार हुने हुन् ? त्यो भने हेर्न बाँकी नै छ ।