काठमाडौं । आफ्नो खातामा पर्याप्त रकम नभएपनि ४३ लाख रुपैयाँ बराबरको चेक दिने महिला जेल पुगेकी छन् ।
झापा जिल्लाको मेचीनगर नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्दै आइरहेकी किरण देवी न्यौपाने बैकिङ कसुर मुद्दामा जेल पुगेकी हुन् ।
न्यौपानेले न्यूरोडस्थित एक मोबाइल पसलबाट पटक पटक विभिन्न कम्पनीका मोबाइलहरू खरिद गरेर लगेकी थिइन् । ४३ लाख आठ हजार ६०० रुपैयाँका मोबाइल खरिद गरेकी न्यौपानेले पसल सञ्चालक मोति कोइरालालाई सोही रकम बराबरको चेक दिएकी थिइन् ।
न्यौपानेले आफ्नो नाममा एन.आई.सी एसिया बैंक बत्तिसपुतली शाखामा कायम रहेको बैंक खाताको दुईवटा चेक र कृषी विकास बैंक लिमिटेड गौशाला शाखामा कायम रहेको खाताको दुईवटा चेकमा गरी कूल चारवटा चेक कोइरालालाई दिएकी थिइन् ।
दिइएका चेकमध्ये एउटामा मिति २०७९ जेठ २७ गते, अर्कोमा असार १३ गते र बाँकी रहेका दुईवटा चेकमा श्रावण ३ गते उल्लेख गरिएको थियो ।
बैंकमा चेक साट्न पुगेका कोइरालालाई बैंकले खातामा पर्याप्त मौज्दात नभएको भन्दै फिर्ता पठाइदियो । आफूसँग भएको चेक सटही नभएपछि कोइरालाले २०८० साल असार २५ गते काठमाडौं जिल्ला अदालतमा बैंकिङ्ग कसूरमा मुद्दा दायर गरे ।
अदालतमा न्यौपानेले चेक र हस्ताक्षर आफ्नो भएको तर त्यसमा उल्लेख गरिएको रकम भने आफूले नलेखेको बयान दिएकी थिइन् । हस्ताक्षर गरेको चेकसहितको ब्याग हराएको र सोही ब्याग कोइरालाले भेटेर चेक बाउन्स गरेको उनको भनाई थियो ।
अदालतमा बयानको क्रममा उनले चेक हराएपछि दुवै बैंकमा गएर चेक रोक्का गरेको बताएकी थिइन् । आफू निर्दोष भएको र यस विषयमा जाहेरवाला कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको उनको भनाई थियो ।
काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकमा न्यौपानेलाई चार लाख ३० हजार रुपैयाँ धरौटी लिएर मुद्दा पुर्पक्षको लागि तारेखमा राख्ने आदेश आयो । न्यौपानेले उक्त रकम धरौटी राखेर मुद्दा लड्दै आइरहेकी थिइन् ।
काठमाडौं जिल्ला अदालतले २०८० साल पुष ५ गते उक्त मुद्दाको फैसला गर्दै न्यौपानेलाई दोषी ठहर गर्यो । जिल्ला न्यायाधीश कपिलमणी गौतमले गरेको फैसलामा भनिएको छ ‘न्यौपानेले आफू निर्दोष भएको र हस्ताक्षर गरेको चेक रहेको ब्याग हराएको बयान दिएतापनि कुनै प्रमाण पेश गर्न सकेको पाइएन । आफ्नो खातामा पर्याप्त रकम नभएपनि चेक दिएको पुष्टि भएको हुँदा बैंक कसूर र सजाय ऐन, २०७४ को दफा ३(ग) र १५ (१) को कसुर गरेको पुष्टि हुन आयो ।’
अदालतको आदेशपछि फरार रहेकी न्यौपानेलाई काठमाडौं उपत्यत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले सोमबार पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार न्यौपानेलाई कागेश्वर मनोहरा नगरपालिकामा रहेको ग्रीनहिल सिटी हाउजिङ्गबाट पक्राउ गरिएको हो ।
अदालतले न्यौपाले ४३ लाख आठ हजार ६०० रुपैयाँ जरिवाना, दुई महिना १५ दिन कैद र रु एक लाख ७२ हजार २४४ रुपैयाँ क्षतिपूर्ती तिराउने फैसला गरेको छ ।
पक्राउ परेकी न्यौपानेलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल लगिएको एसपी आचार्यले बताए । अदालतमा उपस्थित गराइएकी न्यौपानेलाई कारागार कार्यालय पठाइएको छ ।
फैसलाको पूर्णपाठ