काठमाडौं, श्रावण १६ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४५ जनाको मृत्यु भएको हो ।
यस अवधिमा काठमाडौं उपत्यकामा दश जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा दश जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७४ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेश पाँच जना गरी जम्मा ७३ जनाको उद्दार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । मनसुनजन्य विपद्का कारण २ सय ४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
यस अवधिमा ६ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ भने ४ हजार ६३ घर परिवार विस्थापित भएको प्राधिकरले जनाएको छ।