पर्सा, १५ साउन । छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका एक हजार ४०० कुखुराका चल्लालाई खाल्डोमा गाडिएको छ ।
आज बिहान तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छलेर क्वारेन्टाईनको चेकजाँच समेत नगराई ल्याइरहेको अवस्थामा जिल्लाको विन्दवासिनी गाउँपालिका-३ छठीयाघाट नजिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्नसाथ तस्करमा संलग्न व्यक्तिहरु फरार भएतापनि १३ वटा कार्टुनमा नेपाल भित्र्याइएका भारतीय कुखुराका चल्ला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।
बरामद भएका भारतीय कुखुराका चल्लालाई पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा खाल्डो खनेर नष्ट गरिएको डिएसपी भारतीले बताए ।