![लेकसाइडका मसाज सेन्टरबाट पाँच बालिकाको उद्दार](https://ktmdainik.com/wp-content/uploads/2024/05/pexels-anete-lusina-5240642.jpg)
पोखरा । पोखराको लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट पाँच बालिकाको उद्दार गरिएको छ ।
मसाज सेन्टरहरूमा बालिकाहरुलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा शुक्रबार १५ सेन्टरमा अनुगमन गर्दा तीनवटा मसाज सेन्टरमा काममा लगाइएका पाँच बालिकाको उद्दार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले नेक्टर इको फूट स्पाबाट तीनजना, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट एक/एक जना १८ वर्षभन्दा तलका बालिकाको उद्दार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका बालिकाहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।