काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपडासहित दोलखा जिल्लाका तीन व्यक्ति काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका छन् ।
सालकको खपडा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उनीहरूको साथबाट ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रा सहितको सालकको खपडा बरामद भएको प्रहरी उपरीक्षक मिलन के.सी.ले जानकारी दिए ।
पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१ घर भएका २० वर्षीय अमृत लामा, जिरी नगरपालिका-३ घर भएका २५ वर्षीया विशाल बस्नेत र वडा नम्बर ४ घर भएका २७ वर्षीय सुकविर तामाङ रहेका छन् ।
उनीहरूलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय, हात्तिसार पठाईएको छ ।