काठमाडौं । वैदेशिक रोजगारीको लागि यूरोपियन मुलुक पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।
बारा निजगढ नगरपालिका-४ घर भई हाल काठमाडौं तार्केश्वर-८ बस्ने ४३ वर्षीया सुष्मा कुमारी खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेकी महिलाले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने, त्यसको लागि अक्षेरुपी एघार लाख रुपैयाँ लाग्छ भन्दै राजु शाही नाम गरेका व्यक्तिबाट रकम लिएर सम्पर्कबिहीन भएकी थिइन् ।
पोर्चुगल पुगेपछि होटलमा वेटरको काम लगाइदिन्छु, मासिक एक लाख बीस हजार रुपैयाँ भन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
शाहीले पोर्चुगल जाने आशमा ती महिलालाई पटक पटक गरी साढे सात लाख रुपैयाँ दिएपछि महिला सम्पर्कबिहीन भएकी थिइन् ।
विदेश पठाइदिने भन्ने महिला रकम लिएर सम्पर्कबिहीन भएपछि शाहीले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागले कार्यालयलाई पत्र देख्दै सुष्मा कुमारी खड्कालाई खोजतलास गरेर उपस्थित गराउन भनेपछि प्रहरीले ती महिलालाई बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि विभागको कार्यालय ताहाचल पठाइएको छ ।
प्रहरीले नीज महिलाबाट अन्य व्यक्तिहरू पनि ठगीएको भए सम्पर्कमा आउन अनुरोध गरेको छ ।