काठमाडौँ । नयाँ बसपार्क तथा कलंकीका विभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा तनहुँ, भिमाद नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्ने २५ बर्सिया सपना तामाङ भन्ने पूजा राना रहेकी छन् ।
उनले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई धागो कात्ने, घरहरूमा बच्चा हेर्ने, होटलमा सरसफाइको काममा लगाई दिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारि काठमाडौँ बोलाउने र यौन कार्यमा लगाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल, काठमाडौँको टोलीले तीन जना बालिकाहरूको उद्धार गर्दै बालिकाहरूलाई यस कार्यमा लगाउने महिलालाई मङ्सिर १४ गते नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नाबालिकाहरुलाई विगत १० महिना देखी विभिन्न डर त्रास देखाई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुलेको छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद पंगेनीका अनुसार कलंकी बाट एक जना र नयाँबसपार्क बाट २ जना नाबालिकाहरुलाई उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित आवासमा राखिएको छ ।
एसपी पंगेनीका अनुसार ती महिलाले ग्राहक खोज्दै नाबालिकाहरूलाई विभिन्न होटल तथा गेष्टहाउसमा पठाउने गरेकी थिइन् । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
अन्य नाबालिकाहरू पनि संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।