
सिन्धुली । काठमाडौंबाट बिराटनगर तर्फ जाँदै गरेको हायसको ठक्करबाट साइकलयात्रीको निधन भएको छ ।
आज साँझ ६:३० बजे सिन्धुली दुधौली नगरपालिका-७ सिमराई स्थित मदन भण्डारी राजमार्गमा प्र.१-०२-००१ ख ९६१० नम्बरको हाईसले सोही दिशातर्फ जादै गरेको साईकललाई ठक्कर दिएको थियो ।
हायसको ठक्करबाट साईकल यात्री सिन्धुली दुधौली नगरपालिका-७ बस्ने अन्दाजी ५९ वर्षका गंगा बहादुर बि.क. घाईते भएका थिए ।
घाइतेलाई तत्काल उपचारको लागि कटारी हस्पिटल उदयपुरमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् । अस्पताल नपुग्दै बाटोमा नै घाइतेको निधन भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले केटिएम दैनिकलाई बताए ।
हायस चालक उदयपुर चौदण्डी नगरपालिका-९ बस्ने वर्ष ३५ को निर बहादुर कार्की र उक्त हायसलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको डिएसपी दाहालले जानकारी दिए ।