
पोखरा । नाइट्रोभ्याट लेखिएको लागुऔषध ५ चक्की बरामद भएको व्यक्तिको अनुसन्धान गर्दै जाँदा प्रहरीले तीन व्यक्तिलाई नियन्त्रणमा लिएर ८१२ चक्की बरामद गर्न सफल भएको छ ।
आइतबार साँझ लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा पोखरा-८ आलुमाइला चोकबाट एकजनालाई नियन्त्रणमा लिएको थियो ।
उदयपुरको सगरमाथा नगरपालिका-५ स्थायी घर भई हाल पोखरा-५ मासबार बस्ने बर्ष २३ को जिवन बि.क. को साथबाट प्रहरीले पाँचवटा चक्की बरामद गरेको थियो ।
लागुऔषधसहित पक्राउ परेका बि.क. माथि सोधपुछ गर्ने क्रममा उनले दुई व्यक्तिको नाम लिएका थिए ।
बि.क. ले नाम लिएका अर्घखाँची घर भई पोखरा-८ सितलमार्ग बस्ने बर्ष २५ को प्रविण पौडेलको साथबाट ५०७ चक्की लागू औषध नाइट्रोभ्याट र पोखरा-९ संगममार्ग बस्ने बर्ष २३ को कुशल विक्रम खाँण ठकुरीको साथबाट ३०० चक्की बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार बि.क. ले जानकारी दिए ।
लागुऔषध सहित पक्राउ परेका तीनैजनालाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।