
भक्तपुर । चाडपर्व नजिकिँदै गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका-८ दार्जलिङ हाईटबाट जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बेलुका पाँच बजेतिर एक घरमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले तीन बुक तास र नगद रु ४५ हजार रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० घर भएका नवराज दंगाल, लिसङखुपाखर गाँउपालिका -५ घर भएका सुर्य बहादुर श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भएका डावाङ लामा, बलेफी गाँउपालिका-३ घर भएका डिल बहादुर लामा र स्याङजा हरिनाथ गाँउपालिका-५ घर भएका पिताम्बर आले रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूको बारेमा प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको प्रवक्ता पाठकले बताए ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवा तास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।

उक्त दफा को उपदफा १ (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीस हजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।