विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तरगत” चाडपर्वको समयमा यात्रुहरुलाई सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याईएको छ ।
नजिकिदै गरेको बिभिन्न चाडपर्वहरुलाई लक्षित गरी चाडबाडको समयमा यात्रा गर्दा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागी कोशी प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको बिभिन्न स्थानहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु , मातहतका प्रहरी कार्यालयहरू तथा यातायात व्यवसाय सम्बद्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रवाह शुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जस अन्तरगत मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रंगेली, झापाको बिर्तामोड बसपार्क, दमक नगरपालिका-६, मेचीनगर नगरपालिका-६ काकडभिट्टा, मेचीनगर नगरपालिका-१३, भद्रपुर नगरपालिका-५ र १० मा, बुद्धशान्ति गाउँपालिका-३ बुधवारेमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
त्यस्तै ताप्लेजुङको तोक्मेडाडा, पाँचथरको फिदिम नगरपालिका पुरानो बसपार्कमा, धनकुटा बसपार्क, हिले, र भेडेटारमा, उदयपुरको बरुवा बसपार्कमा, तेह्रथुमको लालिगुराँस नगरपालिका-२ को गुराँस चोक र म्याङलुङ बसपार्कमा, सुनसरीको कोशी गाउँपालिका-४ शिवचोकमा र ईटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यसैगरी सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-५ आँवाडाडा, दुधकुण्ड नगरपालिका-७ जोर बौद्ध र दुधकुण्ड नगरपालिका-८ पतालेमा, ईलामको सुर्योदय नगरपालिका-१० को फिक्कल र ईलाम नगरपालिका-५ बिब्ल्याटेमा, भोजपुरको भोजपुर नगरपालिका-६ देउराली, हतुवागढी नगरपालिका-१ घोरेटार, अरुण गाउँपालिका-६ जरायोटार र टेम्के मैयुम गाउँपालिका-३ दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण नगरपालिका-११ रमाईलोडाडा र मिलचौकमा र मानेभञ्याङ गाउँपालिका-७ हर्कपुरमा र सखुंवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क र चैनपुर नगरपालिका-१ जिरोप्वाईन्टमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह शुरु गरिएको हो ।
यसका साथै यात्राको क्रममा यात्रु महानुभावहरुलाई कुनै प्रकारको असहजता, असुरक्षित महशुस भएमा र समानहरु छुटेमा नजिकको यात्रु सहायता कक्ष वा प्रहरीको हट लाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा सम्पर्क गर्नु हुन सुचित गरिन्छ ।
यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्धेश्यले देशका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएका छन् ।
यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको चेक गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी राख्नेछ ।