काभ्रे । बनेपामा विभत्स तरिकाले हत्या गर्ने दुवैजना सार्वजनिक यातायातको सहचालक भएको खुलेको छ ।
हिजो बिहान बनेपा नगरपालिका-१ टिमुरे चौर, घिमिरे गाउँमा एक पुरुषको शव भेटिएको थियो ।
तत्काल पहिचान नखुलेको उक्त शव भिरालो स्थानमा घोप्टो परेको नग्न अवस्थामा पाइएको थियो भने टाउको तथा शरीरमा रगतले लतपतिएर चिन्न नसक्ने अवस्थामा थियो ।
घटनाको केही समयपछि मृतक व्यक्ति सिन्धुली मरिण गाउँपालिका-५ घर भई हाल बनेपामा बस्ने ५५ वर्षीय दुधलाल थिङ रहेको पुष्टि भयो ।
थिङको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपामा आज पत्रकार सम्मेलन गरेर घटनाका आरोपतिहरूलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका-१ का २२ वर्षीय ईश्वर वि.क. र भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २१ वर्षीय समिर राय रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए। ।
मृतकको छोरा वर्ष २७ को ग्याम्जो थिङले प्रहरीमा कर्तव्य ज्यान कसुरमा जाहेरी दिएसँगै थप अनुसन्धान अगाडि बढेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तहरूले घटना घट्नु अघि मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा मृतक थिङलाई घटनास्थलमा भेट्दा सामान्य भनाभन भएको र सोही रिसको आवेगमा कुटपिट गरी लडाई ढुंगाले पछाडी टाउकोमा हानी मरानासन्न बनाई घटनास्थलबाट भागेको खुलेको छ ।
प्रहरीले घटनास्थलबाट मृतकलले लगाएको पाइन्ट, भेष्ट, एक जोर चप्पल, ब्याग र ज्याकेट र घटना घटाउदाको अवस्थामा अभियुक्त ईश्वर वि.क. ले लगाएको रगत लागेको टिसर्ट र पाइन्ट समेत फेला पारेको छ ।
पक्राउ परेका दुवै अभियुक्तलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।