
काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइवालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ११ का छविलाल घिमिरेले २०७९ चैत ६ गते पशुपति मन्दिर नजिकैबाट बागमती प्रदेश ०२-०२३ प ६२ ४९ नम्बरको २ सय सि.सि.को एनएस पल्सर मोटरसाइकल हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३० प ३५ ७५ नम्बर राखी चलाइरहेको अवस्थामा लामालाई मोटरसाइकल सहित फेला पारी कमलपोखरीबाट आज दिउँसो नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा आएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त गौशाला पठाइएको छ ।
सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।