
इलाम । मेची राजमार्ग अन्तरगत इलामको कन्याममा रोकिराखेको मिनी ट्रकमुनि स्कुटर छिरेको छ ।
आज दिउँसो कन्यामबाट फिक्कल तर्फ आउँदै गरेको मे ११प ६३३० नम्बरको स्कुटर सोही स्थानमा रोकी राखेको मे१ ख ३२०१ नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदै ट्रकमुनि छिरेको हो ।
कुइरो र बादलको कारण स्कुटर चालकले रोकिराखेको ट्रक नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उक्त दुर्घटनामा स्कुटर चालक सूर्योदय नगरपालिका ११ मुर्ति डाँडा बस्ने वर्ष ३७ को पञ्च लिम्बु र पछाडी सवार पाँचथर फालेलुङ गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २८ को निर्मल राई घाइते भएका छन् ।
घाइतेमध्ये चालक लिम्बुको बायाँ आँखाको डिलमा चोट लागेको छ भने राईको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले बताए ।
दुवै घाइतेलाई तत्काल उपचारको लागी फिक्कल अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएको डिएसपी जवेगुले बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार दुवै घाइतेको अवस्था मध्यम रहेको छ ।
मिनी ट्रक चालक झापा हल्दिबारी गाउँपालिका-२ पारखोपि बस्ने वर्ष २६ को दिपेश मेचेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।