
काठमाडौं । बन्धक बनाएर जबरजस्ती चेक र कागजतमा सहीछाप गर्न लगाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको छ।
उनीसमेतको समूहले पीडितलाई काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा राखेर राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिने सम्मको धम्की दिएका थिए ।
पीडितलाई कुटपिट समेत गर्दै जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
यस कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काँडाघारीबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको छ ।
उनलाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।