
बागलुङ । गुणस्तरहीन मह बेच्दै हिँड्ने एक भारतीय नागरिकलाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार घर बताउने अन्दाजी वर्ष १९ को ललन धामी रहेका छन् ।
उनले गुणस्तर नभएको मह बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो ।
ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि उनी बस्दै आएको डेरामा खानतलासी गर्दा बिक्री वितरणको लागी १५ पोकामा राखिएको १६५ के.जी मह फेला परेको छ ।
उक्त महलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राविधिक सहितको टोलीले निरीक्षण गर्दा गुणस्तर नभएको पाइएको थियो ।
महको बट्टामा नियमानुसार लेबल विवरण समेत उल्लेख नभएको हुँदा प्रहरीले सो महलाई जफत गरेको छ ।
धामीलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसूरमा आइतबारबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन के.सी.ले बताए ।
विभिन्न मानिसहरू टोल बस्तीमा पुगेर नियमानुसार लेबल समेत उल्लेख नगरिएका गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गर्ने कार्य भएको पाइएको हुँदा यस्ता बस्तुहरू आफूले पनि खरिद नगर्न अरूलाई पनि खरिद नगर्न सल्लाह दिन प्रहरीले आग्रह गरेको छ ।