
काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार गाडी आपसमा ठोक्किँदा दुई जनाको निधन भएको छ ।
मूलपानी–रत्नपार्क चल्ने बा.३ ख ४८४८ नम्बरको बस र बा.६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठक्कर खादाँ बा.प्र ०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल समेत उक्त दुर्घटनामा परेका थिए ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सर्लाही शान्तिटोल बस्ने २१ वर्षीय राज भट्टराई र स्कुटरमा सवार दोलखा बैदेश्वर गाउँपालिका-२ घर भएकी २५ वर्षीया उषा थापा रहेका छन् ।
मृतक थापा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान रहेकी बुझिएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको मदल्यान्ड अस्पताल पेप्सिकोला र सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार जारी छ ।
बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
सार्वजनिक भएको सिसिटिभी फुटेजमा बाटो क्रस गर्दै गरेको एक मोटरसाइकलाई जोगाउने क्रममा उक्त दुर्घटना भएको देखिएको छ ।