
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक सन्तोष आचार्यले १६ मोटरसाइकल र ५ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
चालु आर्थिक वर्षमा ६९ वटा सवारी साधन यसअघि नै धनीलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले कार्यक्रममा जानकारी दिए ।
यस आर्थिक वर्षमै दुई वटा चोरीका मोटरसाइकल सहित तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको छ ।
सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत् जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।