
काठमाडौं । मानिसको आवातजावतको लागि विगत आठ वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकस्थित नेपाल चीन सीमा नाका शुक्रबारदेखि खुला भएको छ ।
भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका २५ जनाको टोली चिन प्रवेश गरेको हो ।
नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे। त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।

तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो।
नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।
सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले दिएको छ।
नाका खुलेतापनि तत्कालका लागि नेपालबाट चीनतर्फको पुलपारी बजारसम्म मात्र जान दिने र चीनबाट नेपाल तर्फ आउँदा १० किलो बजारसम्म मात्र आउन दिइने भएको छ ।