सिन्धुली । विराटनगरबाट नीजि सवारीसाधनमा काठमाडौं आउँदै गरेका दुई व्यक्तिको साथबाट प्रहरीले २० किलोग्राम चाँदी बरामद गरेको छ ।
जिल्लाको वि.पी राजमार्गमा प्रदेश ०१-०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त कारमा लुकाई छिपाई ल्याइएको चाँदी बरामद भएको हो ।
चार वटा पोकामा राखिएको उक्त चाँदी चालक पछाडीको सिटमुनी लुकाइएको अवस्थामा भेटिएको हो ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका-८ घर भई विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालका अनुसार उनीहरूलाई गएराती गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका यादव चालक र शेचन सोही कारमा सवार रहेको प्रहरीले जनाएको छ ।
उक्त चाँदीको हालको अनुमानित बजार मूल्य २४ लाख ६१ हजार ७६० रहेको प्रहरी निरीक्षक कटुवालले जनाए ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।
बिलविजक विना चामल बोकेको ट्रक नियन्त्रणमा
त्यस्तै सिन्धुली प्रहरीले १४२ बोरा चामल बोकेर सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक समेत नियन्त्रणमा लिएको छ ।
मधेश प्रदेश २-०३-००१ ख ६०६५ नम्बर रहेको उक्त ट्रकमा रहेको विल नभएको पाइएको थियो ।
उक्त ट्रकका चालक सर्लाहीको हरिपुर नगरपालिका-७ बस्ने वर्ष २९ को अजय चौधरी, उक्त ट्रक र सो ट्रकमा रहेको भारतीय ब्राण्डको चामललाई भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।