
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र कतार च्यारिटीका बीचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज सोमबार दुई संस्था बीच नेत्रज्योति भवनमा भएको सम्झौता पत्रमा नेपाल नेत्रज्योति सङ्घका तर्फबाट सङ्घका अध्यक्ष प्रा.डा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्रि डाइरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यवस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बाँके, कपिलवस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरूका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न आँखा शिविरको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति सङ्घले गर्नेछ ।
उक्त सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरूको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर मोहम्मद बकासले च्यारिटीले विगत ५ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरी मार्फत दृष्टि पुनर्स्थापनाका लागि नेत्रज्योति सङ्घसँग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढी बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।
अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय भएकाले विभिन्न देशका नागरिकहरू नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै सङ्घका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सहित सङ्घले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष प्रा.डा चेतराज पन्तले कतार च्यारिटीसँगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित नागरिकले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।
सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखा मार्फत सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानीय तहसँगको सहकार्यमा वार्षिक हजारौँ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर सञ्चालन गर्दै आइरहेको छ ।