काठमाडौं । काठमाडौं जिल्लाका दुई स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट नेपाली रुपैयाँ नगद रु चार लाख ३९ हजार ५००, भारतीय रुपैयाँ एक लाख एक हजार, अमेरिकी डलर एक हजार एक सय बरामद भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवा तास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीस हजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।