
काठमाडौँ । नेपाली नागरिकलाई वैदेशिक रोजगारीको लागि पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुई जनाले सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ भने अर्का एक जनाले इटाली पठाइदिने भन्दै ठगी गरेको पाइएको छ ।
कालिकोट तिलागुफा नगरपालिका-३ घर भई हाल कीर्तिपुर बस्ने वर्ष ५२ को विष्णु रिषी पाण्डेले वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको खुलेको हो ।
इटालीमा पेट्रोल पम्पमा काम लगाइदिने त्यसको लागि लागत आठ लाख रुपैयाँ लाग्ने भन्दै उनले तिर्थ बहादुर थापासँग पटक पटक गरी चार लाख पचास हजार लिएर सम्पर्कविहीन भएका हुन् ।
मासिक एक लाख तलब हुने गरी इटाली जाने आशमा रहेका थिए थापा । तर, विदेश पठाउने भन्दै रकम लिएका पाण्डे सम्पर्कविहीन भएपछि उनले वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार दिउँसो कीर्तिपुरबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक मिलन के.सीले बताए ।
त्यस्तै सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-१२ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका-४ दधिकोट बस्ने वर्ष २७ को सुमन बुढाथोकी र इलाम सूर्योदय नगरपालिका-१४ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्ने वर्ष ३० को छविलाल अधिकारी रहेका छन् ।
प्रतिव्यक्ति रु साढे छ लाख लागतमा सर्बिया पठाइदिने भन्दे दुई व्यक्तिबाट रकम लिएर उनीहरू फरार भएका थिए ।
सर्बियामा कृषि फर्ममा मासिक रु ५० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै प्रलोभनमा पारेर पीडितहरूबाट एक लाख पचास हजार लिएपछि सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले आज दिउँसो सामाखुसीबाट पक्राउ गरेको हो ।
हिजो र आज गरी पक्राउ परेका तीन जनालाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको एसपी मिलन के.सीले बताए ।