
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरूको स्तरोन्नतिका लागि नेत्रज्योति सङ्घ र आईकेयर फान्डेशनका बीच सम्झौता भएको छ ।
बुधवार नेत्रज्योति भवनमा भएको सम्झौता पत्रमा नेपाल नेत्रज्योति सङ्घका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेसनको तर्फबाट फाउन्डेसनका सिइओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति सङ्घका उपाध्यक्ष एवं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रूपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरूमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यवाद दिए ।
नेपाल नेत्रज्योति सङ्घ र आईकेयर फाउन्डेसनका बिचमा विगत ३९ वर्षदेखि सहज तथा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्न निरन्तर सहकार्य भइरहेको छ ।
हाल नेपाल नेत्रज्योति सङ्घले देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।