काठमाडौँ । टिपर मर्मत गर्दा धेरै खर्च हुने देखिएपछि टिपर मालिकले उक्त टिपरमा आगो लगाएको खुलेको छ ।
मासिक किस्ता तिर्ने गरी तेह्र महिनाअगाडि रु १३ लाख रुपैयाँमा खरिद गरेको बा.३ ख २८९४ नम्बरको टिपरको मर्मत सम्भारमा धेरै खर्च आउने देखिएपछि सवारी धनीले बीमा दाबी गर्नको लागि आफ्नै टिपरमा आगो लगाएको खुलेको हो ।
रामेछापको मन्थली नगरपालिका-१२ घर भई हाल कोटेश्वर बस्ने वर्ष ३४ को प्रदिप कुमार खत्रीले किनेको उक्त टिपर आफ्नै भाइ भिमसेन खत्रीले चलाउँदै आइरहेका थिए।
तर, करिब चार महिना अगाडि देखि उक्त टिपर ललितपुरको ठेचोस्थित नख्खुखोला कोरिडोर सडक खण्डमा बिग्रिएर थन्किएको थियो।
बिग्रिएर थन्किएर उक्त सवारीसाधनलाई आगो लगाएर बीमा दाबी गर्ने उद्देश्यअनुसार सवारी धनी खत्रीको योजनामा रंग बहादुर बुढाक्षेत्री र भिमसेन खत्रीसमेत संलग्न भएर यही श्रावण १२ गते राती टिपर जलाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
टिपर जलेपछि सवारी धनीले घटना भएको भोलीपल्ट प्रहरी वृत्त चापागाउँ, ललितपुरमा पुगेर आगो लगाउने अपरिचित व्यक्तिहरूको खोजतलास गरी कारबाही गर्नुका साथै बिमा प्रयोजनार्थसमेत आवश्यक सिफारिस गरी पाउँ भन्दै निवेदन दिएका थिए।
प्रहरीले निवेदकमाथि शंका लागेर अनुसन्धान गर्दै जाँदा बीमा दाबी गर्ने उद्देश्यले आफैले टिपर जलाएको खुलेपछि सो कार्यमा संलग्न सवारी धनी, चालक र सिन्धुलीको दुधौली नगरपालिका-१४ घर भई हाल ललितपुरको टिकाथली बस्ने वर्ष २५ को रंग बहादुर बुढाक्षेत्रीलाई आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनालाई ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।