काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोपियन मुलुक क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउपालिका-४ घर भई हाल ललितपुरको नखीपोट बस्ने वर्ष ३० को प्रचलन राई रहेका छन् ।
उनले समर बहादुर परियारलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठादिने, त्यसको लागि रु छ लाख रुपैयाँ लाग्ने बताएका थिए ।
उनले क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने काममा लगाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी छ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।
पीडित रकम दिएपछि राई सम्पर्कबिहीन भएपछि आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागले राईलाई कार्यालयमा उपस्थित गराइदिनु भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र काटेको हो ।
विभागको पत्रपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले राईलाई हिजो (बुधबार) ललितपुरको नखीपोटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।