काठमाडौं । बुधबार भक्तपुरको साँगामा बस दुर्घटना हुँदा घाइते भएका १० जनामध्ये सात जना डिस्चार्ज भएका छन् ।
बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धुलिखेल तर्फ जाँदै गरेको बा. ४ ख. ९३९६ नम्बरको बस साँगा झोलुंगे पुल स्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनापश्चात घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिएर यात्रुहरूलाई भक्तपुर र काभ्रेपलान्चोक जिल्ला स्थित विभिन्न अस्पतालमा पठाइएको थियो । तीमध्ये सातजनाको बुधबार बेलुका नै डिस्चार्ज भएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
बस चालक सिन्धुली घ्याङलेख गाउपालिका-१ घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्ने बर्ष ३१ को पुर्ण बहादुर पाख्रिनको मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै यात्रु सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भई हाल सुन्धारा बस्ने बर्ष ४४ की रिता खत्री र बनेपा नगरपालिका-१३ साँगा बस्ने बर्ष ५९ को अर्जुन खड्काको पनि सोही अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताए ।
अन्य घाइते यात्रुहरू सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।