काठमाडौं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्वन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ मोटरसाइकल र ९ स्कुटर सम्वन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ५ सय ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।
अवैध रुपमा नेपाल भित्रिएका ९५ ओटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात कार्यालय पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।
चालु आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि बिशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार हुनेपर्ने ट्राफिक प्रहरीले बताउँदै आइरहेको छ ।
प्रवक्ता भट्ट भन्छन् ‘सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुपर्छ । साथै मानिसहरूको आवत जावत नहुने
एकान्त स्थानमा पार्किङ नगर्न समेत उनले सुझाव दिएका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।