काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जम्बु डाँडाबाट सात जनालाई जुवा तास खेलिरहेको अवस्थामा प्रहरी पक्राउ गरेको छ ।
उक्त स्थानमा डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवा तास खेलिरहेको अवस्थामा तामाङ समेत सात जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेकाउपर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धको सञ्चार शाखाले जनाएको छ ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवा तास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीस हजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।