काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ र बेइजिङबीचको नियमित उडान पुन:सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ-बेइजिङ-काठमाडौं रुट आज देखि हरेक शनिवार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका छन् ।
एयरलाइन्सको पहिलो उडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ ।
साथै बेइजिङबाट फर्कने उडान स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौँमा अवतरण हुने छ ।
“काठमाडौँ र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौँ । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड-१९ को महामारी पछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्ण छ ।” एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने ।
यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौँ-बेइजिङ-काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन् ।