
बैतडी । बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ ।
मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली-७ चापछाड सामुदायिक वन र वडा नं. ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो ।
वन कार्यालयले यसअघि पटक-पटक ती संरचना हटाउन सूचना जारी गर्दै आएको थियो । उनले भने, “सूचनाको अवज्ञा गरेपछि अतिक्रमण गरी बनाएका घर भत्काएका हौं ।” जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षाकर्मीको टोलीले अवैध संरचना हटाएको हो ।
स्थानीयले वन अतिक्रमण गरी किराना पसल, हार्डवेयर पसल र मिलसमेत सञ्चालन गरेका थिए । जिल्लाका अन्य स्थानमा पनि सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने डिभिजन वन कार्यालयले जनाएको छ ।