कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।
उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका-१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका-१० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत हिलेखालीबाट लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ का २९ वर्षीय गणेश थापा, वडा नं. २ का २३ वर्षीय तपेन्द्र शाही र वडा नं. १० का २१ वर्षीय निरज रानामगर रहेका बताइएको छ । उनीहरूबाट दुई पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो धुलो बरामद गरिएको प्रहरीले जनाएको छ ।